२०७७ फाल्गुन २०, बिहीबार

यस्ता छन् लकडाउन अन्त्य गर्नेसहित कोरोना र लकडाउनसँग सम्बन्धित मन्त्रिपरिषदले गरेको स्वास्थ्यका ११ निर्णय

काठमाडौं- सरकारले आजदेखि लकडाउन अन्त्य गरेको छ। साउन ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो।

लकडाउन अन्त्य भएपनि सुरक्षाका उपाय अपनाउनु पर्ने र केही निश्चित सेवा भने संचालन नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्।

भदौ १ गतेबाट लागू हुने गरी सरकारले विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेको छ।

सरकारले लकडाउन अन्त्य गर्ने निर्णयमा लकडाउन र कोरोनासँग सम्बन्धित स्वास्थ्यका ११ वटा निर्णय पनि गरेको छ।

हेरौं निर्णय 

विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा देहायबमोजिम गर्ने गराउने गरी संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम देहायको आदेश जारी गर्ने। सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने।

१. नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६ चैत ९ गतेको निर्णयअनुसार मिति २०७६ चैत ११ गतेदेखि शुरू भई विभिन्न मितिमा हेरफेर तथा थपघटसहित नेपालभर लागू रहेको बन्दाबन्दी (लकडाउन) सम्बन्धी व्यवस्था मिति २०७७ साउन ६ गते मङ्गलबार (तदनुसार २०२० जुलाई २१) मध्यरात पछि अन्त्य गर्ने। नेपालभर लागू रहेको बन्दाबन्दी (लकडाउन) सम्बन्धी व्यवस्था बाहेक कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्था यथावत कायम राख्ने।

२. जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्ने र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेका मापदण्डबमोजिम हुनेगरी देहायका सेवा तथा कार्यहरू मिति २०७७ साउन १५ गतेदेखि सञ्चालन गर्ने:(क) होटल, रेष्टुरेण्ट (सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला हुने बाहेक) । (ख) ट्रेकिङ्ग, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसाय ।

३. जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्ने गरी देहायका सेवा तथा कार्यहरू मिति २०७७ भदौ १ गतेदेखि देहायबमोजिम सञ्चालन गर्ने:(क) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्डबमोजिम हुनेगरी छोटो, मध्यम र लामो दूरीमा जिल्लाभित्र तथा अन्तर जिल्ला सञ्चालन हुने निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधनहरू; (ख) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डबमोजिम हुनेगरी सो मन्त्रालयले तोकेका आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडानहरू; (ग) अन्तर्राष्ट्रिय खेलकूदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल; (घ) विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन।

४. देहायबमोजिमका सेवा र कार्यहरू अर्को सूचनाबाट तोकिएको मितिदेखि सञ्चालन गर्ने:(क) शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम (ख) सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार; (ग) सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, (घ) सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल, (ङ) सैलुन, ब्युटीपार्लर तथा स्पा; (च) स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब (छ) समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति; (ज) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल;
(झ) पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना।

Share via
Copy link
Powered by Social Snap