२०७७ फाल्गुन २०, बिहीबार

जनकपुर अस्पतालको कोभिड संघर्ष : आइसोलेसन बनाउँदाको विरोधदेखि सिसिटिभीबाट संक्रमितको निगरानीसम्म

काठमाडौं- ‘अस्पतालमा आइसोलेसन स्थापना गर्ने ठाउँ नभएकोले नजिकका स्कुल तथा कलेजमा आइसोलेसन तयार गर्नुपर्ने अवस्था थियो। समुदायमा फैलिने डरले बस्ती नजिक क्वारेन्टाइन नबनाउन स्थानीयले चर्को विरोध गरे,’ आइसोलेसन वार्ड स्थापना गर्दा भोग्नुपरेका तितो अनुभव सुनाए जनकपुर अस्पतालका बालरोग विशेषज्ञ तथा धनुषा जिल्ला कोभिड-१९ म्यानेजमेन्ट सेन्टरका संयोजक डा जामुन प्रसादसिंहले भने, ‘विश्वभर महामारीको रूप लिएको कोभिडका कारण स्थानीयमा संक्रमणको डर हुनु स्वभाविकै पनि हो। तर समुदायमा फैलने गरी क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने पक्षमा हामी पनि थिएनौँ।’ 
  
स्थानीयको विरोधकै बीच जनकपुर प्रादेशिक अस्पतालले सिटिइभिटीको कलेज, गनगुली आयुर्वेद कलेज र जनकपुर नर्सिङ कलेज गरी ३ वटा आइसोलेसन सेन्टरको स्थापना गरेको थयो। तीन वटै आइसोलेसन सेन्टरमा गरी २ सय ४२ शय्या छन्। सिंहका अनुसार ४२ शय्याको आइसोलेसनमा आइसियू बेड पनि तयार छ। 

‘हालसम्म तीन वटै आइसोलेसन सेन्टरमा गरी ६ सय ९२ जना संक्रमितको उपचार भएको छ। ५ सय ९५ जना निको भएर घर फर्किसक्नु भएको छ। ९७ जनाको उपचार भइरहेको, ‘डा सिंहले स्वास्थ्यखबरसँग भने, ‘हाल उपचाररत रहनुभएका सबैको स्वास्थ्य अवस्था सामान्य छ।’

अस्पतालले सम्भावित कोरोना संक्रमणलाई दृष्टिगत गरी फागुन अन्तिमदेखि नै तयारी सुरु गरेको थियो। तर पहिलो संक्रमित बैसाख ३१ गते मात्र भर्ना भएका थिए। त्यसपछि जिल्लामा संक्रमितको संख्या बढेसँगै अस्पतालमा पनि भीड हुन थाल्यो।

‘भारतमा संक्रमितको संख्या बढ्न थालेपछि रोजगारीको लागि भारत गएका नेपाली फर्कने क्रम बढ्यो,’ उनले भने, ‘त्यसपछि नगरपालिकासँगको समन्वयनमा क्वारेन्टाइन बनाउने काम भयो। क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोना परीक्षण गर्दा ठूलो संख्यामा संक्रमित भेटिए।’ 

संक्रमितको नियमित अनुमगनका लागि अस्पतालले आइसोलेसन सेन्टरमा सिसिटीभिटी जडान गरिएको छ। चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुले उनीहरुलाई सिसिटिभीबाट निगरानी गर्ने, टेलिफोनमार्फत उनीहरुको हालचाल बुझ्ने गरेको छ। संक्रमितलाई अस्पताल र गैरसरकारी संस्थाको समन्वयमा पोषणयुक्त खानेकुराको व्यवस्था गरिएको छ। 

कुनै व्यक्तिमा कोरोना संक्रमण देखिए ४८ घण्टाभित्रमा कन्ट्याक्ट ट्रेसिङ गरिसक्नुपर्ने मापदण्ड रहेपनि त्यसको कार्यान्वयन गर्न नसकिएको डा. सिंह स्वीकार गर्छन्। ‘पिसिआर परीक्षण गरेर कोरोना पोजेटिभ देखिएको ४८ घण्टापछि कन्ट्रयाक ट्रेसिङ गरिसक्नुपर्ने मापदण्ड हाम्रो जिल्लामा मात्र नभई नेपालभर नै लागू हुन सकेन,’ उनले भने, ‘यसो हुनुमा पिसिआर परीक्षणको रिपोर्ट ढिला गरी आउनु प्रमुख कारण पनि एक हो।’

‘पिसिआर रिपोर्ट नै १० दिनपछि आउँछ। सुरुवाती दिनहरूमा त क्वारेन्टाइनमा रहेका मानिसको रिपोर्ट आउन तीन हप्तासम्म लाग्थ्यो,’ उनले समस्या सुनाए, ‘त्यो बेलासम्म संक्रमितको सम्पर्कमा रहेका मानिस कहाँकहाँ को-कोलाई भेटे त्यो थाहा हुँदैनथ्यो।’ 

देशका विभिन्न ठाउँमा पिसिआर रिपोर्ट समयमा नआउँदा क्वारेन्टाइनमा नाराबाजी नै भए। धनुषाका क्वारेन्टाइनमा पनि यस्तै दृश्य देखिए। परीक्षण गरेको हप्तादिनसम्म पनि रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेकाहरु निकै आक्रोशित हुने गरेको डा. सिंहले बताए।

अस्पतलामा पहिलो पटक बैसाख ३१ मा कोरोना संक्रमित उपचारका लागि आएका थिए। पहिलो पटक संक्रमित व्यक्ति अस्पताल आउँदा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी सबैमा त्रसित देखिन्थे। तर अस्पतालले दुई महिनाअघि नै कोरोना उपचारका लागि एक सय जना कर्मचारी करारमा भर्ना गरेर तालिम दिइसकेको थियो। जसले गर्दा संक्रमितको उपचारमा कुनै कठिनाई नआएको सिंह बताउँछन्। 

‘अस्पतालले करारमा भर्ना गरेका स्टाफ र अस्पतालमा रहेका वरिष्ठ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम दिएर संक्रमितको उपचारमा खटिने टोली तयारी अवस्थामा राखेका थियौं,’ डा. सिंहले कोरोना उपचारको सुरुवाती तयारीबारे सुनाए, ‘त्यसैले पहिलो संक्रमित भर्ना हुँदा कसलाई कहाँ खटाउने भनेर दुविधा भएन।’ 

संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सक संक्रमित नभए पनि धनुषा जिल्लाका विभिन्न स्वास्थ्यचौकीमा काम गर्ने स्वास्थ्यकर्मी संक्रमित भए। सिंहका अनुसार अहिले उनीहरु निको भएर काममा फर्किसकेका छन्। कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी तथा चिकित्सकलाई जनकुरस्थित एक होटलमा राख्ने व्यवस्था गरिएको छ।

Share via
Copy link
Powered by Social Snap