२०७७ फाल्गुन २०, बिहीबार

अध्ययन: कोरोना संक्रमितलाई लक्षणका आधारमा यी ६ वर्गमा विभाजन गरे नियन्त्रण सहज

एजेन्सी- कोरोना भाइरसका लक्षणहरू व्यक्ति नै पिच्छे फरकफरक पाइएको भनिँदै आएको आएको अवस्थामा अनुसन्धाताहरूले गरेको एक अध्ययनमा भने विभिन्न ६ वर्गमा यसका लक्षणलाई विभाजन गर्न सकिने उल्लेख छ। कस्ता लक्षण भएका संक्रमितलाई भेन्टिलेटरमा राख्ने र कस्तो लक्षण भएका संक्रमितलाई कृत्रिम श्वासप्रश्वासको सामान्य व्यवस्था गर्ने भन्ने विषयमा पहिले नै थाहा पाउन सकिन्छ भन्ने विषयलाई दृष्टिगत गरी अध्ययन गरिएको अनुसन्धाताहरूको भनाइ छ। 

यो अध्ययनले कस्ता संक्रमितलाई अस्पताल भर्ना गर्ने‚ कस्ता संक्रमितलाई श्वासप्रश्वासमा सहजता ल्याउन विभिन्न मेसिनहरूको प्रयोग गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीहरूले पहिले नै थाहा पाउन सक्ने अनुसन्धाताहरूको दाबी छ। 

सामान्य लक्षण देखिँदा नै उचित उपाय अपनाए गम्भीर लक्षण नदेखिने र परिवार तथा नर्सको सहयोगमा संक्रमण थप फैलनबाट नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन्। मानिसमा आफूलाई कस्तो प्रकारको लक्षण देखापरेको भन्ने थाहा हुनासाथ अस्पताल भर्ना हुने भएकाले कोरोनाको नियन्त्रणमा यसले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको दाबी छ।  कोभिड-१९ संक्रमण भएको व्यक्ति सामान्यतया १३ दिनसम्ममा अस्पताल जानुपर्ने विशेषज्ञहरूले बताउँदै आएका छन्।

‘यदि लक्षणको प्रकृति थाहा भएमा यसलाई निको पार्नका लागि हामी आफैं भरसम्भव प्रयास गर्छौं। यसले गर्दा अस्पतालमा भरिएका बेड खाली गर्न सहयोग हुन्छ,’ एक अनुसन्धाताले भने। 

मेडआरसिभमा प्रकाशित भएको यो अध्ययन मोबाइल एप्लिकेसनको माध्यमबाट गरिएको हो‚ जसमा ४० लाखभन्दा बढी मानिसको सहभागी भएका छन्। तीमध्ये १ हजार ६ सय ५३ जना कोरोना संक्रमित प्रयोगकर्ताहरूबाट तथ्यांक संकलन गरिएको अनुसन्धाताहरू बताउँछन्। यी कोरोना संक्रमितमध्ये ३ सय ८३ जना अस्पताल गएका थिए भने १ सय ७ जनालाई कृत्रिम अक्सिजन र भेन्टिलेटरमा राखिएको थियो।

किंस कलेज लन्डनका वरिष्ठ अनुसन्धाता क्लैर स्टिभ्सका अनुसार वृद्धवृद्धा र पहिले नै रोग भएका व्यक्तिमा संक्रमण भइसकेपछि सुरूको अवस्थामा प्रायः उस्तै प्रकृतिको लक्षण देखिएको छ।

ती लक्षणका ६ प्रकारहरू यस्ता छन्:
समूह-१ :
 यो समूहका संक्रमितलाई श्वासप्रश्वासको समस्या‚ लगातार खोकी लागिरहने‚ मांसपेशी दुख्नेजस्ता लक्षणहरू देखापर्ने गर्छन्। यस्ता लक्षण भएकामध्ये करीब १.५ प्रतिशत संक्रमितलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता भएको पाइएको छ। यीमध्ये १६ प्रतिशत संक्रमितलाई अस्पताल जानुपर्ने अवस्था सिर्जना भएको छ। अनुसन्धान गरिएका कूल संक्रमितमध्ये ४ सय ६२ जनामा यस्तो लक्षण पाइएको थियो।

समूह- २ : यो समूहका संक्रमितलाई श्वासप्रश्वासको समस्या‚ खान मन नलाग्ने र ज्वरो आउनेजस्ता लक्षणहरू देखापर्ने गर्छन्। अनुसन्धानका क्रममा यो समूहका कूल संक्रमितमध्ये ४.४ प्रतिशतलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता भएको पाइएको थियो भने १७.५ प्रतिशत संक्रमित एक वा दुईपटक अस्पताल गएका थिए।

समूह- ३ : यो समूहका संक्रमितलाई पेटसम्बन्धी समस्या जस्तै: पेट दुख्ने‚ पखाला लाग्नेजस्ता लक्षणहरू देखापर्ने गर्छन्। यीमध्ये ३.७ प्रतिशत संक्रमितलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता परेको पाइएको छ भने २४ प्रतिशत संक्रमितहरू उपचारका लागि सामान्यतया एकपटक अस्पताल गएका थिए।

समूह-४ : यो समूहका संक्रमितलाई सुरू सुरूमा धेरै नै टाउको दुख्ने‚ लगातार छाती दुख्ने र खोकी लाग्नेजस्ता लक्षणहरू देखापर्ने गर्छन्। यो समूहका संक्रमितमध्ये ८.६ प्रतिशत संक्रमितहरूलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता परेको पाइएको थियो भने २३.६ प्रतिशत संक्रमितलाई एकपटक र सोभन्दा बढी अस्पताल जानुपर्ने अवस्था सिर्जना भएको पाइएको थियो।

समूह- ५ : यो समूहका संक्रमितलाई अत्यधिक टाउको दुख्ने‚ खाना नरूच्नेजस्ता लक्षणहरू देखापर्छन्। यीमध्ये ९.९ प्रतिशत संक्रमितलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता भएको पाइएको छ भने २४ प्रतिशत संक्रमितलाई एक वा धेरै पटक अस्पताल जानुपर्ने अवस्था सिर्जना भएको थियो।

समूह- ६ : यो समूहका संक्रमितहरूमा श्वासप्रश्वासको गतिमा फरक आउनु‚ लामो सास फेर्न नस्कनु‚ छाती दुख्नुजस्ता लक्षण देखिएको छ। यीमध्ये करीब २०  प्रतिशत संक्रमितहरूलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता भएको पाइएको थियो भने ४५.५ प्रतिशत संक्रमितहरू एक वा सोभन्दा बढी पटक अस्पताल गएको पाइएको थियो। यस्तै लक्षण बाँकीका १६७ संक्रमितमा पनि देखिएको थियो।

अध्ययन टिमका अनुसार पहिलो दुई समूहलाई कोभिड-१९ को ‘सामान्य’ लक्षणको रूपमा लिइएको छ। करीब १ हजार ४७ अन्य एप्लिकेसन प्रयोगकर्ताको रेस्पोन्सलाई आधार मान्दा पनि यस्तै परिणाम आएको अनुसन्धानकर्ताको दाबी छ। टाउको दुख्ने‚ स्वाद/गन्ध थाहा नपाउनेजस्ता लक्षणमाथिका लगभग सबै समूहमा देखिएको थियो।

लक्षणको पूर्वजानकारीले कोभिड-१९ को बारेमा हुनसक्ने सम्भावित घटनालाई मध्येनजर गर्दै नियन्त्रणका सुरक्षित उपाय अपनाउनका लागि सहयोग पुग्ने अनुसन्धाताहरूको दाबी छ। यो अध्ययनले कस्ता प्रकृतिका संक्रमितलाई अस्पताल जानुपर्ने र कस्ता लक्षण भएका मानिसलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता हुने भन्ने विषयमा पहिले नै एक किसिमले सुसूचित गराउने विज्ञहरू बताउँछन्।

‘आर्टिफिसियल इन्टेलिजेन्स इन हेल्थकेयर’ विषयका विज्ञ‚ यूनिभर्सिटी अफ बर्मिंगमका प्रोफेसर एलेस्टर डेनिस्टनले यसबाट गम्भीर प्रकृतिको रोगको जोखिम थाहा नहुने दाबी गरे। उनले यस्तो अध्ययनले करोडौं मानिसको लक्षणको बारेमा यकीन गर्न नसक्ने बताउँछन्। तर उनले यो अध्ययन प्रयोगात्मक भएको समेत बताएका छन्।

यूनिभर्सिटी अफ लेसिस्टरका रेस्पिरेटरी रिसर्चर  ब्रिटिस लंग फाउन्डेसनका प्रोफेसर लुइस वाइनले यो अध्ययनले मानिसमा सचेतना फैलाउने बताए।

Share via
Copy link
Powered by Social Snap